कश्यपप्रसाद पौडेलको दास्रो कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन

काठमाडौं । कथाकार कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रमका बीच ‘आरनको आगो’को विमोचन गरे ।

पुस्तकको विमोचन गर्दै उनले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गरे । राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्ने बताए । शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् । देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए ।

लेखक पौडेलको आफ्ने दोस्रो कृतिका रूपमा रहेको यस सङ्ग्रहमा २१ कथा समेटिएका छन् । कथाहरूमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको उनको भनाइ छ । “विशेषगरी हराउँदै जान थालेका गाउँघरतिरका परम्परागत कुरामा सञ्जीवनी छर्कँदै वर्तमान पुस्तालाई हस्तान्तरण गर्ने प्रयास गरको छु”, उनले भने, “मैले सबै कथामा हाम्रो सामाजिक परिवेश र विषम परिस्थितिको पिँधमा रहेर सुनेको, जानेको र भोगेको कुरा सकभर मर्न नदिइ जीवन्त बनाउने प्रयास गरेको छु ।”

लेखक पौडेलको यस अघि प्रकाशित ‘डायनकी छोरी’ कथा संग्रह दोस्रो संस्करण आईसकेको छ । भने २०४८ सालमा ‘सत्यको जित’ नामक नाटक राष्ट्रिय स्तरमा १०० औं पटक मञ्चन भएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव डा।तुलसी भट्टराईले लेखक पौडेलको यस कथा सङ्ग्रहका अधिकांश कथाले समयको सत्य उजागर गर्न सामाजिक यथार्थमा आधारित भएको चर्चा गरे ।

कथा सङ्ग्रहबारे समीक्षा गर्दै लेखक, पत्रकार एवं समालोचक श्रीराम सिं बस्नेतले वर्तमान कथा लेखन शैलीमा अलि फरक धारका विषयवस्तु समेटिएको बताए । यस कथा सङ्ग्रहमा वर्तमान पुस्तालाई रोचक र कौतुहलपूर्ण लाग्ने ग्रामीण क्षेत्रका लुप्त हुन लागेका चलन एवम् परम्परालाई पुनर्जीवन दिने प्रयत्न गरिनुका साथै सामाजिक विकृति र विसङ्गतिविरुद्ध रापिलो मुस्लो ओकल्ने प्रयत्न पनि गरिएको बताए ।

कार्यक्रममा हास्यव्यंग्यकार नरेन्द्रराज पौडेल, लेखक तथा पत्रकार लक्ष्मण अधिकारी, पत्रकार बद्री तिवारी लगायतले पुस्तकबारे चर्चा गरेका थिए ।

कार्यक्रम स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका वरिष्ठ उपाध्यक्ष सुनिलकुमार चालिसेको सभापतित्वमा भएको थियो ।