दुई यातायात व्यवसायी बीचको विवादले काभ्रेमा सार्वजनिक यातायातमा असर

काभ्रे। दुई यातायात व्यवसायीबिचको विवादका कारण काभ्रेमा यात्रुहरु मर्कामा परेका छन्। गणेश हिमाल तराई यातायात सेवा र पूर्व अरनिको यातायात बीचको विवादका कारण यात्रुलाई समस्या भएको हो।
गत बुधवार पुर्व अरनिको यातायात प्रा.लि.र हिमाल तराई यातायातको विवादले अरनिको राजमार्ग अन्र्तगत बनेपामा एक घण्टा सडक अवरुद्ध भयो ।
शनिबार गणेश हिमाल तराई यातायात सेवा कम्पनी प्रा.लिले बनेपामा पत्रकार सम्मेलन गर्दै २०८१ जेठ २२ गते जडिबुटीमा बा ४ ख १९९० नम्वरको आफ्नो बस पुर्व अरनिको प्रा.लि.का कर्मचारीहरुले नियन्त्रणमा लिई हालसम्म नछाडेको विषयलाई लिएर विवाद हुँदा कर्मचारी माथी हातपात भएको र राजमार्ग नै बन्द हुन पुगेको जानकारी दिएको छ ।
गणेश हिमाल तराई यातायात प्रा.ली. का अध्यक्ष आत्मराम थापाले सिण्डिकेट लाउनै पर्छ भन्ने ठुलो यातायात समितिको पेलाईका कारण अन्य समितिका ब्यवसायी र मजदुर असुरक्षित बन्न पुगेको बताए । उनले राजमार्ग बन्द गर्ने अधिकार कसैलाई नभएको स्पस्ट पारे ।
अध्यक्ष थापाले अरनिको यातायात प्रालीको ज्यादतिपूर्ण व्यवहारको विरूद्धमा जिल्ला प्रशासन कार्यालय लगायत प्रहरी वृत्तहरूमा समेत जानकारी गराउँदा सम्बन्धित पक्षहरूलाई बोलाएर आवश्यक छलफल नगरेको बताए ।
उनले यातायात ब्यवस्था कार्यालय मार्फत रुट इजाजत पत्र लिई नेपालका कुनै पनि रुटहरुमा यात्रु बाहक सवारी साधन संचालन गर्न पाउने हकको सुरक्षाका लागि समितिका तर्फबाट ९ वटा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भए पनि सुरक्षाको महसुस गर्न नसकेको गुनासो गरे ।
गणेश हिमाल तराई यातायात प्रा.ली.मा लामो तथा छोटो दुरीमा सञ्चालन हुने १५९ वटा सवारी साधान रहेका छन् ।