भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण आज, प्रधानमन्त्री प्रचण्ड दिल्ली उड्दै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।
आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गङ्गा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो। मोदीको शपथग्रहण पछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबारै साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।
तर, यो शिष्टाचार वार्ता मात्रै हुने जानकारी भारतीय पक्षले दिएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै स्वदेश फर्किने छन्। प्रधानमन्त्रीको दिल्ली भ्रमणको सबै प्रबन्ध भारत सरकारले गर्नेछ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले सन् २०२३ मे ३१ देखि जुन ३ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए। मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।
पहिलोपटक मोदीले २०१४ शपथ लिँदा नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । दोस्रोपटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए।