पोषण र सरसफाई सिकाउन सिंगापुर रेडक्रसका स्वंयमसेवक तेमालमा

काभ्रे । सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वंयमसेवकले तेमाल गाउँपालिका वडा नं ७ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे जानकारी गराएका छन् ।

प्रारम्भ नामक सामाजिक संस्थामार्फत नेपाल आएका उनीहरुले विद्यार्थीहरु, शिक्षक र अभिभावकलाई दाँत माझ्ने सही तरिका, हात धुने तरिका, व्यक्तिगत सरसफाइ र समय समयमा उच्च रक्तचापको परीक्षण गरी समयमै उपचार गर्न सिकाएका थिए ।

टोली प्रमुख मुक्सिन विन दहलान, चेन केजिन, गेराडिन एगारो, सेवास्टिन अनिता रोज, अनिशा विन्ते, टान केन्नाथ, प्रिवेन सुरज सन्त कुमारसहित स्वंयमसेवकको टोलीले अभिभावक र शिक्षक, कर्मचारीलाई समेत पोषण, उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घरोग र यसका जोखिमबारे अभिमुखिकरण गराएको प्रारम्भका अध्यक्ष कल्पना क्षेत्रीले जानकारी दिइन् ।

संस्थाले अभिभावकलाई सातु लगायतका पोषण सामाग्री र विद्यालयको पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरेको छ । सो विद्यालय र वडा कार्यालयलाई १-१ वटा र स्वास्थ्यचौकीको लागि १ वटा गरी ३ वटा झन्डै ८ लाख बराबरको फिल्टर र चापाखोरी स्वास्थ्य चौकीका लागि रक्तचाप नाप्ने ५ वटा डिजिटल मेशिन उपलब्ध गराई सहयोग गरेको कल्पना क्षेत्रीले जानकारी दिइन् ।

प्रारम्भ नेपाले २०७२ साल देखि सिंगापुर रेडक्रससंगको सहकार्यमा नेपालमा आएका विपद् महाभुकम्प, कोभिड १९, २०८० को जाजरकोटको भूकम्प, हुम्लामा ५ हजार भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, शल्यक्रिया, आवश्यक औषधि उपलब्ध गराउने जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

उक्त कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष इन्द्रलाल तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजित लामा, प्रधानाध्यापक प्रेम लामा लगायतले वडाका बासिन्दा र विद्यालयको लागि गरेको स्वास्थ्य सम्बन्धी उपकरण तथा सहयोग प्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष ईश्वरी ओझा, समाजसेवी रमेश तामाङ लगायतले प्रारम्भ र सिंगापुर रेडक्रसले नेपालमा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे प्रशंसा गरेका थिए ।