अवकाश उमेर बढाउने तयारीमा चीन

चीनमा अब अवकाशको उमेर बढाउने तयारी भइरहेको छ। बालबालिकाको जन्मदर घट्दै गएको र वृद्धवृद्धाको सङ्ख्या बढ्दै गएपछि चीनले अवकाशको उमेर बढाउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ। देशमा काम गर्नेको सङ्ख्या घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै चीन सरकारले अवकाश उमेर बढाउने निर्णय गरेको छ।
रिपोर्टका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वको बैठकमा यो नयाँ प्रस्तावलाई अनुमोदन गरिएको हो। यो प्रस्ताव लागू भएपछि चीनमा अवकाशको उमेर १० वर्षले बढ्न सक्छ। तर, यो क्रमशः धेरै चरणहरूमा लागू हुनेछ।
चीन विश्वका ती देशहरू मध्ये एक हो जहाँ सेवानिवृत्तिको उमेर निकै कम छ। चीनमा पुरुष ६० वर्षमा र महिला ५५ वर्षमा अवकाश लिने गर्छन्। कडा परिश्रममा संलग्न महिलाले ५० वर्षपछि नै अवकाश पाउँछन्।
चीनमा औसत आयु संयुक्त राज्य अमेरिका भन्दा बढी छ। विश्व बैंकको प्रतिवेदन अनुसार चीनको औसत आयु ७८ वर्ष पुगेको छ। सन् १९४९ मा कम्युनिस्ट क्रान्तिको समयमा यो ३६ वर्षको मात्रै थियो। जबकी अमेरिकीको औसत आयु ७६ वर्ष रहेको छ।
चाइना पेन्सन डेभलपमेन्ट रिपोर्टले सेवानिवृत्तिको उमेर कम्तीमा ६५ वर्ष हुनुपर्ने उल्लेख गरेको छ। यो महिला र पुरुषको लागि समान हुनुपर्ने उल्लेख छ।
डेनमार्क, ग्रीस, इटाली, आइसल्याण्ड, इजरायल जस्ता देशहरूमा अधिकतम ७७ वर्षमा अवकाश पाउने प्रावधान छ। अमेरिकामा यो उमेर ६६ वर्ष रहेको छ। तर, सन् १९६० पछि जन्मिएका व्यक्तिको अवकाश उमेर ६७ वर्ष पुर्याइएको छ।