२१ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

‘|  प्रतिबन्धित लागूपदार्थ कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले ६ किलो २४ ग्राम कोकिनसहित नियन्त्रणमा लिएको हो।

बरामद कोकिनको नेपाली बजार मूल्य २१ करोड ८ लाख रुपैयाँभन्दा बढी हुने प्रहरीले जानकारी दिएको छ। 

कतार एअरवेजको जहाजमा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आवागमन कक्षको ‘वाक थ्रु’ गेटमा जाँच गर्दा उनको साथमा रहेको सुटकेसमा शङ्कास्पद वस्तु देखिएको थियो। लगेज खोलेर जाँच गर्दा त्यसभित्र प्रतिबन्धित लागूऔषध कोकिन फेला परेको ब्युरोले जनाएको छ। कोकिन रिसिभ गर्ने तयारीमा रहेको गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ।