यातायात कार्यालय काभ्रेमा कर्मचारी अभावले सेवा बिस्तार रोकियो

काभ्रे । बनेपामा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा बिस्तार रोकिएको छ । गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक प्राविधिक कर्मचारी अभावले सवारी जाँचपास लगायतका सेवा बिस्तारमा समस्या देखिएको हो ।
बागमती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यालयमा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी (मेकानिकल सुपरभाइजर) नखटाउँदा प्राविधिक काम सुरु गर्न नसकिएको बताइएको छ । मन्त्रालयबाट प्राविधिक कर्मचारी खटाउन नसकेका कारण सवारी दर्ता, नामसारी, प्रदूषण परीक्षण, भाडाको सवारीको जाँचपास, सवारी सर्वसहमति सरुवा सहमति र लिलामी दर्ताको काम सुरु गर्न नसकिएको हो ।
कार्यालयबाट तत्कालका लागि सवारी साधनको ब्लू–बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम मात्र भइरहेको छ । मन्त्रालयबाट कार्यालयमा पाँचौ तथा छैटौँ तहसहितका आवश्यक प्राविधिक कर्मचारी नखट्दा सेवा बिस्तार गर्न नसकेको हो । कार्यालयले हालसम्म चालक अनुमति पत्र (लाइसेन्स)नवीकरणसमेत अघि बढाउन नसकेको जनाएको छ । कार्यालयले लाइसेन्स नवीकरणको काम भने भदौको पहिलो सातादेखि सुरु गर्ने योजना बनाएको छ । स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको जनाइएको छ ।