काभ्रे । बैशाख १ गतेदेखि ‘नगरकोट भ्रमण वर्ष २०८२’ सुरु हुने भएको छ । काभ्रेको बनेपा, मण्डनदेउपुर नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ आयोजना हुन लागेको हो ।

नयाँ वर्ष २०८२ को शुभारम्भसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट बैशाख १ गते नगरकोटको बतासे डाँडामा भ्रमणवर्षको उद्घाटन गरिने शुक्रबार नगरकोटमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो।

नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ईतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष आयोजना गर्न लागिएको हो। भ्रमण वर्ष भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेसमेत लक्ष्य आयोजकको छ। भ्रमण वर्षमार्फत नगरकोटमा १ लाख आन्तरिक र १० लाख वाह्य गरि ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ।

भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक तथा मण्डन देवपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले भ्रमण वर्षको चारवटै नगरपालिकाले एकसाथ तयारी गरेको र प्रचारप्रसार गर्ने काम भैरहेको बताए। उनले भ्रमण वर्षलाई लक्षित गरेर गाउँमा नमुना होमस्टेसमेत बनाइएको बताए । नगरकोट आउने पर्यटकहरुले होमस्टेमा फरक अनुभव लिन पाउने छन।

प्रमुख वाईवाले भ्रमण वर्षलाई लक्षित गरेर गाउँले खाना, कोदो र फापरका परिकार पर्यटकलाई चखाउने योजना बनाएको र नगरकोट आउने पर्यटकलाई दोलालघाटसम्म पुर्याउने लक्ष्य महोत्सवमार्फत लिएको स्पस्ट पारे ।

भ्रमण वर्षको अवधिभर चारवटा नगरपालिका भित्रका विभिन्न महत्त्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरुको भ्रमण गराइने छ। नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरु, सुर्योदय र सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौं उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा लिइने गरिन्छ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले भ्रमण वर्षमा आउने पर्यटकले पहिलेको नगरकोट र अहिलेको नगरकोटको फरक अनुभुती गर्न पाउने बताए। उनले नगरकोटको बसोवास र सडकमा पहिले र अहिले धेरै भिन्नता आएको दाबी गरे। शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकहरु बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गर्दै जान सक्नेसमेत बताए।

मण्डन देवपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपालले नगरकोटसँग चार नगरपालिकाको सम्बन्ध स्थापित गर्न समग्र नगरपालिकाको डीपीआर बनाउने काम भैरहेको बताए।उनले गरकोटमा मात्र पर्यटक सिमित भैरहेको अवस्थामा चार वटै नगरपालिकाका जनप्रतिनिधिहरुमार्फत विकासको योजना बनाएर एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्याउनका लागि भ्रमण वर्षले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए।

भ्रमण वर्षका विज्ञ सल्लाहकार घनश्याम खतिवडाले चारवटा नगरपालिकाको सबै सम्पदाहरुलाई चिनाउने उद्देश्य राखिएको बताए। उनले भ्रमण वर्षले फरक(फरक रहनसहन, रितिरिवाजलाई एकत्रित गर्नेसमेत बताए।

भ्रमण वर्षको सुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरु रहनेछन। यस्तै फुड स्टल तथा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्राहलय तथा प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी भ्रमण वर्षको कार्यक्रममा प्रस्तुत गरिने छ। नगरकोट भ्रमण वर्षलाई नै लक्षित गरेर नगरकोट देखि काठमाडौसम्म सिधा बस सेवा सुरु भैसकेको छ।